नियम
स्रेस्तेदारको काम, कर्तव्य र अधिकार
(१) अध्यक्षको सामान्य नियन्त्रण र निर्देशनमा रही न्यायाधिकरण बसेको कार्यालयको प्रशासकीय रेखदेख र नियन्त्रण गर्ने कर्तव्य र अधिकार स्र्रेस्तेदारको हुनेछ । न्यायाधिकरणका सबै कर्मचारीहरु स्रेस्तेदारको प्रशासकीय रेखदेख र नियन्त्रणमा हुनेछन् र आफ्नो कार्यभारको उचित सम्पादनको लागि स्रेस्तेदार प्रति जवाफदेही हुनेछन् तथा सम्पूर्ण कार्यालयको निपुण प्रशासनको लागि स्रेस्तेदार अध्यक्ष प्रति जवाफदेही हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी यस नियमावलीमा अन्यत्र उल्लेख भएको कर्तव्य र अधिकारको अतिरिक्त स्रेस्तेदारको काम र कर्तव्य देहायबमोजिमको हुनेछः–
(क) निवेदनपत्र दर्ता गर्ने,
(ख) पुनरावेदन दर्ता गर्ने,
(ग) वारिसनामा लिने र सकारनामा गराउने,
(घ) मुद्दा मामिलाको कुनै पक्षको मृत्यु भएमा हकवालालाई सूचना दिने र मुद्दा सकार गराउने,
(ङ) मुद्दा मामिलामा नाबालक वा होस ठेगाना नभएको पक्षको हकदार वा वारिस नियुक्त गर्ने वा भईरहेकालाई खारेज गर्ने,
(च) मुद्दा मामिलामा कुनै पक्षले आफ्नो तर्फबाट उपस्थित हुन बहस पैरवी गर्न कानून व्यवसायी नियुक्त गरेकोमा वकालतनामा दर्ता गर्ने,
(छ) मुद्दा मामिलामा तारिख तोक्दा मुद्दा मामिलाको कारबाई किनारा टु‌ंगिन नपाउने गरी पक्ष विपक्षलाई मुनासिब अवधिको तारिख                         तोक्ने, तर पक्ष विपक्षलाई अनावश्यक असुविधा नहुने गरी तोक्नु पर्छ ।
(ज) न्यायाधिकरणमा दर्ता हुन प्राप्त भएका पुनरावेदनपत्रमा कानून बमोजिम लाग्ने रकम दाखिला गराउने र तल्लो अड्डामा दर्ता भर्ई                         आएको पुनरावेदनपत्रमा नपुग रकम लिने कारबाई गर्ने,
(झ) न्यायाधिकरणबाट जारी हुने सूचना म्याद जारी गर्ने, तामेल गराउने र सो सम्बन्धमा आवश्यक निकासा दिने,
(ञ) आफूले आदेश वा निकासा दिन पाउने अधिकार भएको निवेदनपत्र वा विषयसित सम्बन्धित कुनै कागजपत्र सम्बन्धित पक्षबाट पेश                    गर्न लगाउने,
(ट) उच्च अदालतबाट र प्रमाणको लागि अड्डा अदालतबाट मागी पठाएको मिसिल र कागजपत्र पठाउने,
(ठ) मुद्दाकाे फाँटवारी र फछ्याैर्ट सङ्ख्या समेत खुलाई मासिक र वार्षिक प्रतिवेदन उच्च अदालत र अर्थ मन्त्रालयमा पठाउने,
(ड) मुद्दा मामिला कारबाई किनाराको लागि साप्ताहिक र दैनिक मुद्दा पेसी सूचीमा चढाई न्यायाधिकरणमा पेश गर्ने,
(ढ) न्यायाधिकरणको फैसला आदेश बमोजिम न्यायाधिकरणबाट गर्नु पर्ने लेखापढी कारबाई गर्ने,
(ण) कानूनबमोजिम मिसिल कागजातको नक्कल दिने,
(त) पेश भएको सक्कल लिखत काम सकेपछि सम्बन्धित पक्षलाई फिर्ता गर्ने ।